यस वर्ष भाइटीकाको साइत ११:५१ मा उत्तम

दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो

काठमाडौं,असोज,२९-

हिन्दुहरुको दोस्रो ठुलो पर्व भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११:५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिनुभयो । उहाका  अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।