काठमाडौं,वैशाख,२२-प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो ।
राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले एमालेले तय गरेको उम्मेदवार वर्तमान गृहमन्त्री रामबहादुर थापाविरुद्ध गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएका ओली देउवालाई भेट्न जानुभएको हो ।
ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि साथमा रहनुभएको छ । ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै हुनुहन्छ ।
ओलीलाई विश्वासको मत नदिने निर्णय कांग्रेसले गरेको भोलिपल्ट प्रधानमन्त्री प्रमुख विपक्षी दलका नेतालाई भेट्न जानुभएको हो ।
बुधबार मात्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाका नेताहरुको बैठक बसी बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा थापाका विरुद्धमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णइसमेत गरिसकेका छन् ।
निर्वाचन आयोगले वाग्मतीमा जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्दैछ ।