काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एफसी फाइनलमा प्रवेश

काठमाडौं,बैशाख,२८-धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे ।काठमाडौंका तेज तामाङले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा मार्की खेलाडी विशाल चम्किएपछि धनगढी फाइनल पुगेको हो । खेलको १ सय ८ औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले गोल गर्दै टिमलाई फाइनलको यात्रा तय गराए ।

रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा काठमाडौंले गोलको केहि मौका भने गुमाएको थियो ।

१६ औं मिनेटमा काठमाडौंका मेसौके ओलोमोउले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोस्ट बारमा लाग्दै फर्किएको थियो । धनगढीका गोलकिपर किरण चेम्जोङ अगाडी बढेको अवस्थामा मेसौकेले चलाखीपूर्ण तरिकाले प्रहार गरेका थिए ।

खेलको ३७ औं मिनेटमा सुदिल राईको पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे ।

 

दोस्रो हाफको खेल थप रोमान्चक बन्यो ।खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाए । मेसौकेको क्रसमा तेजले वन टचमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

तर, खेलको ७८ औं मिनेटमा पुजन उपरकोटीको गोलबाट धनगढीले बराबरी गोल फर्काएको थियो । फ्रान्कलिनको हेडर पासमा काठमाडौंका गोलकिपर विकेश कुथु अगाडी बढेको फाइदा उठाउदै पुजनले उत्कृष्ट बाइसाइकल गोल गरे ।

खेलको ८९ औं मिनेटमा वान भर्सेज वानको स्थितिमा ओलावाले आफिजको प्रहार काठमाडौंका गोलकिपर विकेशले उत्कृष्ट बचाऊ गरे ।

खेलको इन्जुरी समयको अन्तिम मिनेटमा काठमाडौंका स्टेफेनको फ्रिकिक प्रहार दोस्रो बारको टप कर्नर नजिकैबाट बाहिरियो ।त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

 

अतिरिक्त समयमा काठमाडौंले केहि गोलको सुन्दर अवसर खेर फाल्यो । खेलको १ सय १५ औं मिनेटमा मैदानको बायाँ भागमा पाएको फ्री किकमा स्ट्राइकर स्टेफेन बिनोङको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले क्लियर गरेका थिए । उक्त बलमा पोस्ट नजिकैबाट अन्जन राईको प्रहार आकासिएको थियो ।

त्यसको एक मिनेट नबित्दै मैदानको बायाँ भगबाट विश्वास श्रेष्ठको क्रसमा अन्जनकै फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।खेलमा धनगढीका फ्रान्कलिन कुइटे प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका सौजन राई चुनिए । उनले १० हजार प्राप्त गरे ।धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ ।

इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।