बाँकेमा आजबाट मतदाता शिक्षा कार्यकर्तालाई तालिम

डम्मर थापा मगर/

बाँके, कार्त्तक,२५-

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा आजबाट मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिएर कार्यक्षेत्रमा खटाउन सुरु गरीएको छ । आज पहिलो दिन क्षेत्र नम्वर १ मा परीचालन हुने १ सय १७ जना मतदाता शिक्षा कार्यकर्ताहरुलाई प्रशिक्षण तालीम दिइएको छ ।

आवश्यक सामाग्रीहरु उपलव्ध गराइ सकीएकाले उनिहरु भोलीदेखी कार्यक्षेत्रमा खटिने क्षेत्रिय निर्वाचन कार्यालय नेपालगन्जका निर्वाचन अधिकारी बसन्तराज अधिकारीले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यकर्तालाई प्रतिनिधी सभा निर्वाचन क्षेत्र अनुसार पालैपालो तालिम दिएर सम्बन्धीत क्षेत्रमा खटाईदै छ ।

उहाँका अनुसार क्षेत्र नं. २ का मतदाता शिक्षा कार्यकर्तालाई भोली र क्षेत्र नम्वर ३ का कार्यकर्तालाई पर्सी तालिम दिईँदै छ । १ सय ३६ मतदानस्थल एवं ३ सय २७ वटा मतदान केन्द्र रहेको बाँकेमा प्रत्येक मतदान केन्द्रका मतदाताका लागि १ जना मतदाता शिक्षा कार्यकर्ता खटाईदै छ ।

अधिकारीले क्षेत्र २ मा ९९ र ३ मा १ सय १२ जना मतदाता शिक्षा कार्यकर्ता खटाइने जानकारी दिनुभयो । निर्वाचन शिक्षा कार्यकर्ताहरुले मतदाताहरुको घरदैलोमा पुगेर मतदान गर्ने तरीका वारे जानकारी गराउनेछन् ।