अब चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने

फाईल तस्विर !!

काठमाडौं,जेठ,७-अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली नागरिक पनि प्रस्थान गर्न पाउने व्यवस्था गरेको हो।अब विदेशी नागरिक तथा कार्गाका लागि हुने चार्टर उडानबाट नेपाली नागरिक पनि जान पाउने भएका छन् ।

अहिले चार्टर उडान गर्नेमा नेपालको राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्स, निजीक्षेत्रको हिमालय एयरलाइन्स रहेका छन् भने विदेशी विमानमा कतार, टर्किशलगायत रहेका छन् । उनीहरूले नेपाली नागरिक लैजान पाउने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।

उद्धार उडानबाट यात्रा गर्दा शुल्क भने महँगो तिर्नुपर्छ।उद्धार उडान गर्दै आएका नेपाल विमान कम्पनीले काठमाडौं-रियादका लागि रू. ८९ हजार ५००, काठमाडौं-दमामका लागि रू. ८४ हजार ५०० र काठमाडौं-जेद्दा उडानका लागि रू. ९८ हजार ५०० भाडादर निर्धारण गरेको छ । सरकारले गत वैशाख २३ गते बिहीवारदेखि अन्तरराष्ट्रिय नियमित उडानमा रोक लगाएको छ ।

हेलिकोप्टरले रू. १ लाखसम्म थप भाडा लिन पाउने
कोरोना भाइरस (कोभिड–१९)को संक्रमित यात्रुलाई उद्धार गर्ने हेलिकोप्टर कम्पनीले साविकको भाडादरमा प्रतिउडान थप रू. १ लाख लिन पाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीवार सूचना जारी गर्दै भाडादरमा प्रतिउडान थप १ लाख रुपैयाँ लिन पाउने सक्ने व्यवस्था गरिदिएको छ ।

अहिले आर-४४/आर-४६ र एएस ३५० सिरिज/एफएक्स/बेल २०६ सिरिजका हेलिकप्टरको प्रतिघण्टा भाडादर क्रमशः १००० डलर र १ हजार २०० डलर रहेको छ । यात्रुले यो डलर बराबर नेपाली रुपैयाँ भाडा तिर्नुपर्छ।कोरोना भाइरसको महामारीमा अहिले उद्धार उडान हुँदै आएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले कम्पनीहरूको अतिरिक्त खर्च बढी हुने भएकाले यसलाई व्यवस्थित र एकरूपता दिन थप भाडादर तोकिएको जानकारी दिनुभयो।

‘हेलीकोप्टर कम्पनीहरूले यो रकमभन्दा बढी माग गरेका थिए,’ उहाँले भन्नुभयो, ‘यो अवस्थामा बढी भाडा लिनु उपयुक्त हुँदैन भनेर नै खर्चका आधारमा यात्रुलाई सहुलियतका लागि प्राधिकरणले नै थप भाडा तोकिदिएको हो ।’ प्राधिकरणका अनुसार हाल ६ ओटा कम्पनीलाई कोभिड संक्रमित उद्धारका लागि उडान अनुमति दिइएको छ ।आर्थिक अभियान