मध्यावधि चुनावको घोषणा फिर्ता लिन जनस्वास्थ्यकर्मीको माग

नागरिकको जीवनप्रति सरकारको चरम गैरजिम्मेवारीपन

फाईल तस्विर !!

काठमाडौं,जेठ,९-मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोना महामारीको समयमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैरजिम्मेवारीपनको स्पष्ट उदाहरण भएको उल्लेख गरिएको छ ।

देश कोभिड–१९ को महामारीको दोश्रो लहरबाट आक्रान्त भइरहेको बेला संसदको विघटन र मध्यावधि निर्वाचनको घोषणाले आफूहरु चिन्तित र मर्माहित भएको जनस्वास्थ्यकर्मीहरुले बताएका हुन् ।

विज्ञप्तिमा कोभिड १९ को महामारीले स्वास्थ्यमा भएको संकटपूर्ण स्थितिलाई स्वीकार गर्नु र अर्कोतिर निर्वाचनको घोषणा गर्नु आफैमा विरोधाभासपूर्ण रहेकाले घोषित निर्वाचनमा देशमा भएको सीमित स्रोतको ठूलो अंश खर्च हुने र कोभिडमा आवश्यक पर्ने स्रोतमा कटौति भएर नागरिकले कोभिडको सेवाबाट बञ्चित हुनुपर्नेछ र असिम पिडा भोग्न बाध्य हुनुपर्ने उल्लेख छ ।

साथै उनीहरुले नागरिकको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील बन्दै यो घोषणाको प्रतिकार गर्न सबै सरोकारवालाहरूलाई आह्वान पनि गरेको छ ।

अपिल जारी गर्नेमा डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रीराज पाण्डे, डा. सुजन बाबु मरहठ्ठा, डा. अरुणा उप्रेती, डा. समीरमणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बि.सी. र डा. कृष्णमान शाक्य हुनुहुन्छ ।