आगलागी पीडित ११ घरधुरीलाई नेपाली सेनाद्धारा राहत सामग्री वितरण

मुगु,पुस २-मुगुस्थित खमाले गाविस वडा नं ९ चाकपाडे गाँउमा गत महिनाको २० गते दिउँसो आगलागी हुँदा पीडित  ११ घरधुरीलाई आज  नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ । रारा राष्टिय निकुन्ज सुरक्षार्थ खटिएको दुर्गा भन्जन गुल्मले आगलागी पिडित परिवारलाई आज प्रत्येक घरधुरीलाई ६४ हजार रुपियाँ बराबरको मन्डी कम्बल,विस्कुट,चाउचाउ लगायतका राहत सामग्रीहरु वितरण गरेको नेपाली सेनाका उप सेनानी ईन्द्रबहादुर खड्का बताउनु भयो । जिल्ला सदरमुकामबाट एक दिन पैदल दुरीमा रहेको उक्त गाँउमा आगलागी हुँदा पनि नेपाली सेना नै पहिला पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट ११ घरमा ७६ लाख ५२ हजार बराबरको भौतिक सम्पतीको क्षती भएको थियो भने उक्त गाँउकै लालविर बुढाकी एक बर्षिया छोरी दिलमाया बुढाको जलेर मृत्यु भएको थियो ।

आगलागी भएको ठाउँ टाढा हँुदा कुनै निकायबाट लामो समयसम्म पनि कुनै किसिमको सहयोग नपाएका आगलागी पिडितहरुलाई नेपाली सेनाले गाउँमै पुगेर राहत सामग्रीहरु वितरण गर्दा पिडित जनताहरुले राहतको महशुस गरेको स्थानिय गोर्ख बहादुर रोकायाले बताउनु भयो । सेनाको टोली संगै गएका रारा राष्टिय निकुन्जको कार्यालय मुगुका रेन्जर लक्ष्मीनारायण शाहले व्यक्तिगत रुपमा आगलागी पिडित परिवारलाई ३४ हजार  रुपियाँ बराबरको कम्मल मन्डी वितरण गरेको पनि नेपाली सेनाले जनाएको छ ।