महिला,पुरुष वैदेशिक रोजगारीमा विदेशीन थालेपछि गाउँ नै खाली हुँदै

जाजरकोट,पुस २- जाजरकोट जिल्लामा वैदेशिक रोजगारी र भारतमा कमाइका लागि महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् । मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो । गाउँमा विद्यालय उमेरका बालबालिका र वृद्ध मात्र भेटिने गरेको उनको भनाइ छ । विकास निर्माणका काममा समेत युवा पुरुष नहुँदा महिला तथा विद्यालय उमेरका बालबालिका जुट्नुपर्ने बाध्यता रहेको खत्रीको भनाइ छ ।

गाउँमा भएका केही मानिस सहर, बजार अनि सडकको नजिक सरिसकेका छन् । अहिले गाउँमा मान्छे विहीन बन्दै जाने खतरा बढेको खगेनकोटकी विष्णुकुमारी खत्रीले बताउनुभयो । विवाह गर्दासमेत जन्ती जाने मानिस नहुँदा, मानिस मर्दा मलामी जाने पुरुष नहुँदा अहिले सबै काम महिलाले गर्दै आएको खत्रीको भनाइ छ । हाम्रो गाउँमा जन्ती, मलामी महिलालाई नपठाउने चलन थियो, अहिले पुरुष नै नभएपछि महिलाले त्यस्ता कार्यमा सक्रिय सहभागिता जनाइरहेका छन् खत्रीले भन्नुभयो । घरको काम बालबालिका र वृद्धले गर्दा विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीको सङ्ख्या पनि ठूलो रहेको रग्दाका कमल ध्यारले बताउनुभयो ।