मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

फाईल तस्विर !!

एजेन्सी,असार,१५-कप्तान लिओनेल मेस्सीले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ अन्तर्गत समुह चरणको खेलमा बोलिभियामाथि ४-१ को सहज जित दर्ता गरेको छ ।

मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएको खेलमा दुइ गोल र एक असिस्ट प्रदान गरेका थिए । खेलको छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मेस्सीले दिएको चिप पासमा बोलिभियाको डिफेन्स लाइन बिट भएपछि गोमेजले भलीमा गोल गर्दै अर्जेन्टिनालाई अघि बढाएका थिए ।

३१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी प्राप्त गर्यो । बोलिभियाका जस्तीनिअनोले गोमेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा सहजै गोल गर्दै मेस्सीले अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

४२ औं मिनेटमा मेस्सीकै गोलमा अर्जेन्टिना ३-० ले अघि बढ्यो । सर्जियो अगुएरोले प्रदान गरेको थ्रु बललाई मेस्सीले गोलरक्षक लाम्पेको टाउको माथिबाट पठाउँदै गोल गरेका थिए । मेस्सी र अगुएरोबीच राम्रो समझदारीले नै गोल सम्भव भएको थियो ।

खेलको ६० औं मिनेटमा साभेड्राले गोल गर्दै बोलिभियालाई खेलमा फर्काउने संकेत दिएका थिए । जस्तिनियनोको पासमा पहिलो टचमा नै प्रहार गर्ने क्रममा उनले गोलरक्षक अर्मानीलाई बिट गरेका थिए ।

६७ औं मिनेटमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको तीन गोलको अग्रता पुन: स्थापना गरे । अगुएरोको ठाउँमा मैदान प्रवेश गरेको २ मिनेट नबित्दै उनले गोल गरेका थिए । उनले ६ यार्ड बक्सभित्र क्लियर हुन नसकेको बललाई गोल गरेका थिए ।

यस जितसँगै अर्जेन्टिना समूह ए को शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ।अर्जेन्टिनाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोड्यो।उरुग्वे पनि पाराग्वेमाथि १-० को जित दर्ता गर्दै दोस्रो स्थानमा रहयो।उरुग्वेले ७ तथा पाराग्वेले ६ अंक जोड्यो । ५ अंक जोडेको चिली चौथो स्थानमा रहयो ।

अर्जेन्टिनाले अब क्वाटरफाइनलमा इक्वेडरको सामना गर्नेछ । उरुग्वे र कोलोम्बियाले अन्तिम ८ मा खेल्दा ब्राजिलले चिलीको सामना गर्नेछ । पेरुले पाराग्वेसँग खेल्नेछ ।