प्रधानमन्त्री देउवाले लिए शपथ,राष्ट्रपतिले सच्याए नियुक्तिको व्यहोरा

फाईल तस्विरमा : प्रधानमन्त्रीको शपथ लिदैं काँग्रेस सभापति शेरबहादुर देउवा !!

काठमाडौं,असार,२९-नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गराउनुभएको हो ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिनुभएको थियो ।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिनुभएको हो।प्रधानमन्त्री देउवाले आजै कांग्रेसबाट दुई र माओवादीबाट दुई मन्त्री सहभागि गराएर पाँच सदस्यीय मन्त्रीमण्डल पनि गठन गर्नुभएको छ ।

मन्त्रीमण्डलमा नेपाली कांग्रेसका बालकृष्ण खाँण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ।यसैगरि माओवादीका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बन्नुभएको छ ।