इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौं,असोज,२७-बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ ।

नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । आजको खेलमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो ।

अन्ततः खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्न सफल भए । नेपालले गोलका लागि बनाएको क्लियर चान्समा पेनाल्टी एरिया बाहिर आएर फाउल गरेसँगै बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए । त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीले १८ यार्ड बक्समा अञ्जनमाथि फाउल गरेसँगै नेपालले पेनाल्टी पाएको थियो ।

मालेस्थित नेसनल फुटबल स्टेडियममा जारी खेलको आठौं मिनेटमा नेपाली डिफेन्डर गौतम श्रेष्ठले विपक्षी खेलाडीमाथि खराब ट्याकले गरेसँगै बंगलादेशले फ्रि–किक पाएको थियो । सोही फ्रि–किकमा कप्तान जमल भुयाको पासमा सुमन रेजाले हेडरमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

खेलको सुरुआतदेखि नै गोलका लागि प्रयासरत नेपालले केही मौका सृजना गरे पनि सदुपयोग गर्न सकेको थिएन । पहिलो हाफको इन्जुरी समयमा रोहित चन्दको क्रसमा आयुष घलानको सुन्दर हेडर फ्रेममा नपर्दा नेपाल बराबरी गर्न दुर्भाग्यशाली रह्यो । त्यसअघि रोहित चन्दले पनि सुन्दर मौका गुमाएका थिए । प्रतियोगिताको पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलको नतिजामा हराएको थियो ।

त्यस्तै, तेस्रो खेममा भारतसँग १–० ले पराजित नेपालले बंगलादेशविरुद्ध महत्त्वपूर्ण १ अंक हासिल गर्दै शीर्ष दुईमा स्थान बनाएको हो । राउन्ड रोबिन लिग पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । आजै हुने माल्दिभ्स र भारतबीचको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ । प्रतियोगिता १३औं संस्करण सम्म आइपुग्दा नेपाल भने एकपटक पनि फाइनल पुग्न सकेको थिएन ।