साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने

फाइनल खेल आइतबार नेपाली समय अनुसार ४:४५ बजे सुरु हुने

काठमाडौं,असोज,२८-भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।

यो पनि पढ्नुहोस् ||

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

 

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे ।माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।

Image

रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा कप्तान अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भारतका कप्तान सुनिल चम्किए ।खेलको ६२ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-१ को जित दिलाए । भारतका लागि उनको यो ७९ औं गोल हो। 

यस्तै खेलको इन्जुरी समयमा सुबासिस बोसले रातो कार्ड पाएपछि भारत अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै भारत शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।भारतले ४ खेलमा ८ अंक जोड्यो ।

Image

अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ । फाइनल खेल आइतबार नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ ।

नेपाल उपविजेता बन्दै फाइनल पुगेको हो ।नेपालले बुधबार बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो । 

पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्यो ।माल्दिभ्सले भने ६ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।यस्तै बंगलादेश ५ अंक जोडेर चौंथो र श्रीलंका १ अंक जोडेर पुछारमा रह्यो ।खेलपाटी

यो पनि पढ्नुहोस् ||

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा