नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

फाईल तस्विर !!

काठमाण्डौं,पुष,१-नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । 

बिहीवार भएको मतगणनामा गगन कुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरेर महामन्त्रीमा विजयी हुनुभएको हो । यस्तै डा. प्रकाशशरण महतले एक हजार पाँच सय ५६, प्रदीप पौडेलले एक हजार तीन सय ९३, डा. मिनेन्द्र रिजालले आठ सय नौ र डा. राजाराम कार्कीले एक सय ६ मत प्राप्त गर्नुभएको छ ।     

गएको सोमबार भएको मतदानमा कुल चार हजार ६ सय ८२ मत खसेका थियो । जसमध्ये ४३ मत बदर भएको हो। महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा महत र पौडेल, डा. शेखर कोइराला समूहबाट रिजाल र थापा, प्रकाशमान सिंहको समूहबाट शर्मा, विमलेन्द्र निधिको समूहबाट कार्की उम्मेदवार हुनुहुन्थ्यो।

महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन हुनुभएको हो । सभापतिमा देउवा निर्वाचित भइसक्नुभएको छ भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

महामन्त्रीपछि सह-महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।