आयल निगमको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त

काठमाडौं,माघ,१७-नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाको दरखास्त परेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सूचना जारी गर्दै उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

दरखास्त निवेदन पेश गर्नेहरूमा जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव रहेका छन् ।

यस्तै, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले पनि निवेदन दिएको सूचनामा उल्लेख छ ।

२०७५ पुस २३ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कार्यकारी बनेका सुरेन्द्र पौडेलले तीन वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै पद खाली भएको थियो ।

रिक्त कार्यकारी पदका लागि आपूर्ति मन्त्रालयले गत पुस २५ गते सूचना प्रकाशित गर्दै २१ दिनभित्र आवेदन दिन भनेको थियो । आवेदन दिनेमा पूर्वकर्मचारी, इन्जिनियरदेखि चार्टर्ड एकाउन्टेन्टसम्म छन् ।