प्रतिनिधिसभाको बैठक आज बस्दै,एमसीसीको समयसीमा भोली सकिदै

दलहरु सहमती नजिक,आज नै एमसीसी सम्झौता अनुमोदन हुनसक्ने

काठमाण्डौं,फागुन,१५-प्रतिनिधिसभाको बैठक आज आईतबार बस्दैछ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसद् बैठक बस्न लागेको हो । बैठक आइतवार दिउँसो १ बजे बस्ने समय तालीका रहेको छ ।

कानुन मन्त्री दिलेन्द्र बडुले गएको बिहिबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

आजको प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची हिजो शनिबार सार्वजनिक गरिएको थियो।संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा एमसीसी सम्झौताको विषयमा सामान्य छलफल हुनेछ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुनेछ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पनि पेश हुने सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख छ ।गत आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव टेबल गरिएको थियो।

अमेरिकाले एमसीसी परियोजना अनुमोदन गर्न भोली सोमबारसम्मको समयसीमा दिएको अवस्थामा आज नै एमसीसी सम्झौता अनुमोदन हुनसक्ने देखिएको छ ।यद्यपि यसका लागि सत्ता साझेदार दलहरु एकीकृत समाजवादी र माओवादी केन्द्र सहमत छैनन् ।

सत्ताधारी दुई घटक एमसीसी पास गर्न सहमत नभएपछि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको वार्तालाई पनि समानान्तर ढंगले अगाडि बढाइरहेको छ ।