बेन्जिमाको ह्याट्रिक संगै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, पीएसजी बाहिरियो

काठमाडौं,फागुन,२६-स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराउँदै समग्रमा ३-२ को जितसहित रियल अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगमा पीएसजीले १-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा अग्रता जोगाउन नसक्दा पीएसजी बाहिरिएको छ ।पीएसजीले गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले ह्याट्रिक गोल गरे ।पीएसजीका केलियन एमबाप्पेले एक गोल फर्काए ।

Image

खेलको ३९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।तर,६१ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ को बराबरीमा ल्याए ।

७६ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।त्यसपछि खेलको ७८ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गर्दै रियललाई ३-१ को जित दिलाए ।

Image

बेन्जिमाले १७ मिनेट भित्र ह्याट्रिक पूरा गरेका हुन् । बेन्जिमा च्याम्पियन्स लिगमा तीन पटक ह्याट्रिक गर्ने पहिलो फ्रेन्च खेलाडी बनेका छन् ।