आज बडा दसैंको दोस्रो दिन, ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदै

फाईल तस्विर !!

काठमाडौं,कार्तिक,२-नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेको छ ।

नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र सुरु भएको हो ।

घटस्थापनमा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ ।

यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।