काठमाडौं,कार्त्तीक,१-चीनले नेपालको भूमि नमिचिएको स्पष्ट पारेको छ।हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै चीनले हालै निर्माण गरिएका ती भवनहरु आफ्नै भूभागभित्रै परेको दावी गरेको छ ।
हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने चिनियाँ अधिकारीहरुले दावी गरेका छन् ।
चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्सका अनुसार बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवन निर्माणअघि सेना र सर्वेका अधिकारीहरुले आफ्नै भूमिका परोस भनेर विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।
नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रो पटक फिल्ड सर्वे र मापनको काम गरेका थिए ।
सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो । चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् ।
चिनियाँ अधिकारीले पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुनेसमेत उल्लेख गरेका छन् ।
चिनियाँ अधिकारीले नेपाली सर्वे टिमले केही गल्ती गरेको हुनसक्ने सो पत्रिकालाई बताएका छन् ।यसअघि नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत डा. महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको बताइसक्नुभएको छ ।
तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने चीनले नेपाली भूभाग मिचेको दाबी गर्दै सरकारले झूट बोलेको आरोप लगाएको छ ।