राष्ट्रिय सभाका उम्मेदवारको अन्तिम नामावली १५ गते सार्वजनिक हुने

काठमाडौ,माघ,१०-

निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवारहरुको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली आगामी माघ १५ गते सार्वजनिक गर्ने कार्यसूचि रहेको जानकारी दिनु भएको हो ।

उहाँले सोही दिन निर्वाचन चिन्ह पनि प्रदान भएपछि निर्वाचन प्रचार अभियान पनि सुरु हुने स्पष्ट पार्नु भयो । बुधबार राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयन भएपछि निर्वाचन आयोगले सो सम्बन्धमा छानवीन गरी १५ गते अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको हो ।

निर्वाचन आयोगले शुक्रबारबाट राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता पनि लागू गर्ने जनाएको छ । आयोगका प्रवक्ता ढकालले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबै राजनीतिक दल र त्यसका उम्मेदवारको कर्तव्य हुने पनि स्मरण गराउनु भयो । निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेमाथि कडा कार्वाही हुने चेतावनी पनि दिएको छ ।

आगामी माघ २४ गते बुधबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ५६ जना मतदाता रहेका छन । उनीहरुले प्रत्येक प्रदेशबाट ८/८ जनाका दरले ५६ जना उम्मेदवारलाई चयन गर्नेछन । राष्ट्रिय सभामा जम्मा ५९ सदस्य हुन्छन । ३ सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । नेपालबाणीबाट