जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने सरकारको तयारी

काठमाडौं,चैत,८-सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताउनु भएको छ ।

उहाँले राष्ट्रिय जलस्रोत नीति–२०७७ कार्यान्वयन गर्नका लागि आवश्यक मस्यौदा संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताउनुभयो ।

उहाँले सरकार जल संरक्षण र सम्वद्र्धनमा पर्याप्त सचेत रहेको पनि बताउनुभयो । भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले त्यसका लागि आम नागरिकहरुको सचेतनामा समेत ख्याल पुर्याउनु पर्ने बताउनुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले पिउने पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहनुपर्ने पनि बताउनुभयो ।