इटालीलाई हराउदै अर्जेन्टिना च्याम्पियन

काठमाडौं,जेठ,१९-अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ ।वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।खेलको २८ औं मिनेटमा लियोनल मेसीको उत्कृष्ट पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

Image

पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।यससँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ च्याम्पियन बनेको छ ।

Image

फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ।इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।  

यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)  र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भईसकेको छ ।

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ मा ब्राजिललाई हराएर उपाधि जितेको थियो र यस वर्ष कतारमा हुने विश्वकपका लागि पनि छनोट भइसकेको छ ।

अर्जेन्टिनाले २८ वर्षको पर्खाइपछि कोपा अमेरिका जितेको थियो । अहिले ३२ खेलको अपराजित यात्राबाट गुज्रिरहेको अर्जेन्टिना विश्वकप उपाधिका लागि पनि बलियो प्रत्यासी बनेको छ ।