साफ यू-२० : श्रीलंकालाई हराउदै नेपाल शीर्ष स्थानमा

नेपालले तेस्रो खेल आईतवार भारतसँग खेल्ने

फाईल तस्विर !!

भारत,साउन,११-नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराएको छ । 

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज बुधबार बेलुकि भएको खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।

पहिलो हाफमा श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो हाफको ५८ औं मिनेटमा कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत सहजै गोल गरेका हुन् ।

एक तर्फि दबाब दिएको नेपालले खेलको ६५ औं मिनेटमा नेपालका लागि कृतिस रत्न छुन्जुले गोल गर्दै नेपाललाई २-० को अग्रता बनाएका थिए ।

कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा पावरफुल सर्टमा सुन्दर गोल गरेका थिए।त्यसपछि नेपालका लागि खेलको ८४ औं मिनेटमा सुगमको पासमा मनग्यले गोल गर्दै नेपाललाई ३-० को जित दिलाए हुन्।

जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ।नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।यस अघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।

श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १-० गोल अन्तरले हराएको थियो ।नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ ।यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

यसैबिच : आजै भएको खेलमा बंगलादेशले भारतलाई २-१ गोलले हराएको थियो। बंगलादेश २ खेल खेल्दा ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

साफ यू-२० च्याम्पियनसिप फुटबलको शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।