मैत्रीपूर्ण खेलमा आज नेपाल र पाकिस्तान भिड्ने

खेल साँझ ५:३० बजे सुरु हुने

फाईल तस्विर !!

काठमाडौं,कार्तिक,३०-आज नेपाल र पाकिस्तान भिड्ने भएको छ।नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाहुना टोली पाकिस्तानको सामना गर्नेछ।नेपाल र पाकिस्तानको खेल साँझ ५:३० बजे सुरु हुनेछ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो।पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो ।तर, नेपालले एक खेलको लागि सहमति जनाएको थियो ।

पाकिस्तानविरुद्धको खेल घरेलु मैदानमा नेपालको लागि ५० औं खेल हुनेछ ।उक्त मैत्रीपुर्ण खेलका लागी अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामान्य प्यारापिटतर्फ ५ सय , भिआइपीतर्फ १ हजार र ५ हजारको टिकट मूल्य तोकेको छ ।

यसैविच: नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो ।नेपालले दशरथ रंगशालामा पहिलो पटक माल्दिभ्सविरुद्ध औपचारिक अन्तराष्ट्रिय खेल खेलेको थियो ।  

नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हो ।नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ४ खेल जितेको छ।पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो ।

ढाकामा भएको उक्त खेलमा नेपालका लागि गणेश थापा र मान बहादुर मल्लले एक एक गोल गरेका थिए ।नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो ।

साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले एक गोल गरेका थिए ।

पाकिस्तानविरुद्ध खेल्ने नेपालको टिम !!

गोलकिपरः विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आभास लामिछाने

फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ

यसैगरी :नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ अटाएका छैनन्।किरण व्यवसायिक क्लब फुटबलका लागि भारतमा रहेका छन् ।

उनी आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन्।मिडफिल्डर आभास लामिछानेले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।