काठमाडौं–१ मा रवीन्द्र मिश्रलाई हराउँदै काँग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौं,मंसिर,६-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराउनु भएको हो।  सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराउनु भएको थियो । सिंहले ७ हजार १ सय ४३ मत  प्राप्त गरेका छन् । मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४  मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए ।

२०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका छोरा  प्रकाशमानलाई पारिवारिक वातावरणले नै नेपाली कांग्रेसको राजनीतिमा ल्याएको थियो । २०१२ सालमा जन्मेका उनी नेविसंघबाट राजनीतिमा उदाएका थिए । २०३४ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी त्यसको दुई वर्षपछि अध्यक्षमा चुनिएका थिए ।

२०४६ सालमा पंचायत ढलेपछि २०४७ देखि निरन्तर १० वर्षसम्म कांग्रेसको काठमाडौं जिल्ला सभापति रहेका सिंहले पार्टी फुटका बेला शेरबहादुर देउबाको साथ रहेर नेपाली कांग्रेस (प्रजातान्त्रिक)को उप-सभापति नै बने । २०६४ मा पार्टी एकीकरणपछि २०६७ को १२औं महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भए ।

१४औं महाधिवेशनसम्म आइपुग्दा देउवाबाट निकै टाढा पुगिसकेका सिंहले सभापतिमा प्रतिस्पर्धा गरे । तर, दोस्रो चरणमा पुग्न नसकेपछि देउवालाई सभापति बन्न साथ दिएका उनले एकै निर्वाचन क्षेत्राट पटक-पटक उठ्ने र जित्ने सौभाग्य पनि प्राप्त गरेका छन् ।

२०४८ मा काठमाडौं-४ मा र २०५१ मा काठमाडौं-३ मा पराजित भएका उनले २०५३ सालमा राष्ट्रिय सभा सदस्य भएर ६ वर्ष बिताएका थिए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सिंह काठमाडौं-१ मा आएर जितेपछि उनले योसहित यहाँबाटै निरन्तर चौथो विजय हात पारेका हुन् ।

यसअघि २०७४को चुनावमा सिंह १० हजार ९३७ मतका साथ विजयी भएका थिए । तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आएका थिए ।