प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदै

‘एमालेका घिमिरे र कांग्रेसकी न्यौपानेको उम्मेदवारी’

काठमाडौं,माघ,५-प्रतिनिधि सभाको सभामुखका लागि बिहीबार मतदान हुँदैछ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, नेपाली कांग्रेसको तर्फबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिनुभएकी छ ।

बुधबार दिउँसो भएको उम्मेवारी दर्तामा घिमिरेको प्रस्तावक एमाले सांसद सुवासचन्द्र नेम्वाङ, समर्थकमा नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् । यस्तै कांग्रेसकी न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन् ।

उम्मेदवारी दर्ता गराए लगत्तै उहाँले आफू निर्वाचित भए सन्तुलित रुपमा सभामुखको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

कांग्रेसकी न्यौपानेले पनि आफू सभामुखमा आफू विजयी बन्ने दाबी गर्नुभएको छ ।

बिहीबारको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ।

सभामुख चयनलगत्तै शुक्रबार उपसभामुख चयन प्रक्रिया सुरू हुनेछ ।ईमेजखबरबाट