आज नेपाल र भियतनाम भिड्ने

खेल नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुने ।

काठमाडौं,चैत्र,२२-आज बुधवार नेपाल र भियतनाम विच खेल हुदैछ।पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ।जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले भियतनामविरुद्ध जितकै लागि खेल्ने बताउनु भएको छ।

उहाँले भन्नुभयो’राम्रो विपक्षीविरुद्ध खेल्दै छौँ।भियतनामले विश्वकप समेत खेल्दैछ।वरीयता हामीभन्दा धेरै माथि छ,’ मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा थापाले भनेका थिए, ‘हाम्रो टिममा राम्रा खेलाडी छन्।एक महिनाबाट तयारी गरिरहेका छौँ।राम्रो प्रदर्शन गर्ने छौँ।सुखद नतिजाको अपेक्षा छ ।’

भियतनामले अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ।फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ।नेपाल १०० औं स्थानमा रहेको छ ।

प्रशिक्षक थापाले भियतनाम बलियो टोली भएपनि आफुहरु जित निकाल्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा रहेको बताउनुभयो।

‘भियतनामलाई मनिटर गरिरहेका छौँ।मुख्य खेलाडीको बारेमा हेरिरहेका छौँ।हाम्रो अन्तिम लक्ष्य भनेको दोस्रो चरणमा पुग्ने हो । हामी राम्रो प्रदर्शन गरेर जाने थापाले बताउनुभयो।

पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन्।प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र  भियतनाम मात्र रहेको हो।नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपाली राष्ट्रिय टिमका गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले भियतनाम वरीयतामा माथि भएपनि जितकै लागि आफूहरु खेल्ने बताउनु भएको छ।

‘भियतनामसँग पहिलो पटक खेल्दै छौँ।वरीयताले फरक पर्दैन । हाम्रो जित्ने लक्ष्य छ।मैदान पसेपछि हार्ने मन हुँदैन,’ एन्जिला भन्छिन्, ‘अन्तिमसम्म फाइट गर्यौं भने राम्रो नतिजा आउने छ ।’भियतनाम पनि नेपाललाई हराएर दोस्रो चरण नजिक पुग्न चाहन्छ ।

तर, भियतनामका मुख्य प्रशिक्षक माई डक चुङले नेपालको टोली राम्रो रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताउछन् ।

‘हामीले नेपालसँग पहिले खेलेका छैनौं तर नेपालसँग प्रभावशाली टोली छ । हामी राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं किनभने हामी यहाँ खेलहरू खेल्न मात्र होइन प्रतिस्पर्धा गर्न आएका हौं,’ चुङ भन्छन् ।

कप्तान हुय्न्हु न्हुले नेपालविरुद्ध जितकै लागि खेल्ने बताउछिन् ।हामी यहाँ प्रतिस्पर्धाका लागि खेल्न आएका हौँ । नेपाललाई हामी सम्मान गर्छौं । हामी यहाँ जित्नका लागि आएका हौँ,’उनले बताएका छन्।