संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं,भाद्र,२६-संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए।

परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिनु भएको थियो।उहाँलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो।

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी,मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए।तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए।त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले नचलेको, सास फेरे नफेरेको, मुटु चले नचलेको हेर्छौं।नेम्वाङमा ती केही पनि थिएनन्।त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ।,तै पनि ट्राइ गर्यौं।जुनसुकै बिरामी आए पनि हामी ईसीजी, सीपीआर गर्छौं, मेडिसिन दिएर हेर्छौं।त्यसबाट केही पनि नभएपछि कन्फर्म डेथ भन्ने निष्कर्षमा पुग्यौं।’अस्पताल स्रोतले भनेको छ।

उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत राजनैतिक दलका नेताहरु शिक्षण अस्पताल पुगेका छन्।नेम्वाङको शव श्रद्धाञ्जलीका लागि बुधबार सम्म पार्टी कार्यालयमा राखिने बताइएको छ।

इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मनु भएको थियो।उहाँ इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आउनु भएको थियो।२०४८ सालदेखि २०५२ सालसम्म उहाँ राष्ट्रिय सभाका सांसद बन्नु भएको थियो।

२०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बन्नु भएको थियो।पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन्।