स्वस्थ जीवनशैलीले जोगाउँछ मुटु रोगको जोखिम

फाईल तस्विर !!

काठमाडौं,असोज,९-मुटु रोगबाट बच्नका लागि स्वस्थकर खानापान र जीवनशैलीमा ध्यान दिनु पर्ने विज्ञहरुले बताएका छन।विश्व मुटु दिवसको पूर्व सन्ध्यामा रोटरी क्लब अफ पाटन र नेपाल एनसीडी एलायन्सले संयुक्त रुपमा सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले सो कुरा बताएका हुन्।मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुरोगबाट विश्वमा सबैभन्दा धेरै मानिसले अकालमै ज्यान गुमाइरहेको बताए।

उनले विश्वभर वर्षेनी २ करोड मानिसले मुटु रोगको कारण ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक गरे।विभिन्न कारणले नेपालमा पनि वर्षेनी मुटुरोगीहरुको संख्या बढ्दै गएकोले यसतर्फ सचेत हुनु पर्ने डा. रेग्मीले बताएका छन।उनका अनुसार नेपालमा वार्षिक ३० लाख मानिसको मुटु सम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ।समयमै उपचार गरे ८० प्रतिशत मुटु रोग निको हुने भएकाले स्वस्थ जीवनशैलीमा ध्यान दिन उनको सुझाव छ।

धेरैजसो सर्वसाधारणले रोग लाग्दा लापरवाही गर्ने भएका कारण अकालमै मृत्युवरण गर्नु पर्ने अवस्था रहेको रेग्मीको भनाई छ।फिजिसियन डा.दिल्जान मन्सुर (कुर्द) ले मुटु रोगबाट बच्नका लागि विशेषगरी खानपानमा ध्यान दिन आग्रह गरेका छन।उनले स्वाद मेटाउनकै लागि आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी जथाभावी खाने बानीले शरीरको नियमित प्रक्रियामा असर पर्ने भएकाले यसबाट मुटु रोगको जोखिम बढ्ने बताए।

उनले जाँड, रक्सी, चुरोट, गुट्खा, खैनी, सुर्ति सेवनबाट टाढा रहन सके मुटुलाई स्वस्थ राख्न मदत पुग्नेमा जोड दिए।चिल्लो, तारेको, भुटेको, बोसोयुक्त खाना र जंक फुडको सेवनका कारण स्वास्थ्यमा जटिलता थपिने भएकाले यसतर्फ सजग हुन पनि डा. कुर्दले आग्रह गरेका छन । शरीरको तौल, पेटको साईज, रक्तचाप, रगतमा ग्लुकोजको मात्रा, रगतमा कोलेस्टेरोलको मात्रा थाहा पाउन स्वास्थ्य परीक्षण गराउन अल्छी नगर्न उनले सुझाएका छन।

डा. कुर्दले रक्तचाप सन्तुलनमा राख्न नसके यसले हृदयघात लगायतका जोखिम बढाउने सम्भावना धेरै हुने भएकाले नियमित चेकजाँच गराउनु समेत अनुरोध गरे।स्वस्थ रहनका लागि कम्तीमा दैनिक ३० मिनेट शारीरिक अभ्यास गर्न समेत उनले सुझाव दिए ।

रोटरी क्लब अफ पाटनका अध्यक्ष महेन्द्र सिंह रावलले वार्षिक योजना अनुसार विश्व मुटु दिवस २०२३ का अवसरमा मुटु सम्बन्धी जनचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए। स्वास्थ्य क्षेत्रमा समेत रोटरीले विभिन्न कामहरु गर्दै आएकाले यस वर्ष ५ हजार विद्यार्थीको मुटु चेकजाँच गर्ने लक्ष्य रहेको रावलले जानकारी दिए।

कार्यक्रममा अन्य सहभागीहरुले कसरी मुटु स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा आम सर्वसाधारणमा सचेतना बढाउनु पर्नेमा जोड दिएका छन।उनीहरुले पछिल्लो समय खाद्यान्न तथा तरकारीमा मिसावट र विषादीको जथाभावी प्रयोग बढ्दै गएकाले जनस्वास्थ्यमा चुनौती थपिएको प्रति चिन्ता व्यक्त गरेका छन।विषादी नहालेको तरकारी पाउनै मुश्किल हुने भएकाले शहरी क्षेत्रमा बसोबास गर्नेहरु यसबाट अझ धेरै प्रभावित भइरहेको उनीहरुको भनाई छउनीहरुले बढ्दो जनसंख्याका कारण वातावरण प्रदूषित बनीरहेकाले यसतर्फ सरकारले ध्यान दिएर नीतिगत व्यवस्था गरी यसको कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन। 

हरेक वर्ष सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिन्छ।यस वर्ष २०२३ को विश्व मुटु दिवसको नारा “मन लगाउँ, आफ्नो मुटु बचाउँ” भन्ने तय गरिएको छ ।