एमालेद्धारा संसद बैठक फेरि अवरुद्ध, संशोधन प्रस्ताव फिर्ता लिन माग

काठमाडौँ, मंसिर  १७- प्रमूख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलहरुको अबरोधका कारण आजपनि संसद बैठक कार्यसूचीमा नै प्रबेश नगरी स्थगित भएको छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको सात बुँदे संविधान संशोधन प्रस्तावमा असहमति जनाउँदै संसद प्रतिपक्षी सहितका दलहरुले संसद अबरुद्ध गर्दै आएका छन् । संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रघाति भन्दै प्रमुख प्रतिपक्षी एमाले, माले, नेमकिपा र राष्ट्रिय जनमोर्चा लगायत दलका सांसदहरुले बैठकमा उठेर विरोध जनाएका हुन् ।बैठक सुरु हुनेबित्तिकै विषय समय लिएका नेकपा मालेका अध्यक्ष एवं सांसद सीपी मैनालीले संशोधन प्रस्ताव असंवैधानिक, तराईमा बहुराष्ट्रिय राज्य बनाउने अवधारणासहित ल्याइएकोले दाबी गर्दै यो फिर्ता नलिएसम्म संसद अगाडि बढ्न नसक्ने बताउनुभयो ।आजको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीका विरुद्धमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

आयोगका प्रमुख आयुक्तउपर सांसद महेन्द्रबहादुर शाहीसहित १५७ जना सांसदले दर्ता गर्नुभएको महाभियोग प्रस्तावमाथिको छलफल गर्ने कार्यसूची तय गरिएको थियो । संविधान संशोधनसम्बन्धी प्रस्तावको कार्यसूची नभएकाले सदनलाई निर्वाधरुपमा सञ्चालन गर्न सभामुख घर्तीले आग्रह गर्नुभयो । अख्तियारका प्रमुख आयुक्तमाथि परेको महाअभियोगको प्रस्तावमाथिको छलफल गराउने विषय नै आजको प्रमुख कार्यसूची रहेकाले आशन ग्रहण गर्न आग्रह गर्नुभएको थियो । संशोधन प्रस्तावको विरोधमा विहिबार पनि संसद अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्षी दलको निरन्तरको अवरोधपछि व्यवस्थापिका–संसद्को अर्को बैठक यही मङ्सिर १९ गते १ बजे बस्ने गरी स्थगित भएको छ ।