क्रियाशिल पत्रकार महिलाको सण्डे क्लब कार्यक्रम नेपालगन्जमा सम्पन्न

नेपालगन्ज,मंसिर १७ –क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा एकल महिलाको अवस्था, समस्या र चुनौतिका विषयमा सण्डे क्लब कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको छ । द्धन्द्ध पिडित तथा एकल महिला संजाल बाँकेको संयोजनमा सम्पन्न भएको कार्यक्रममा संजालका अध्यक्ष एक माया बिकले एकल महिलाको अवस्था, समस्या र चुनौतिका विषयमा प्रकाश पार्नु भएको थियो । क्रियाशिल पत्रकार महिला बाँके अध्यक्ष उमा थापाले सहजीकरण गरेको कार्यक्रममा विभिन्न आरोह अवरोहहरुको सामना गर्दै एकल महिलालाई समाजमा स्थापित गर्नु परेको आफ्नो अनुभव सुनाउदै अध्यक्ष विकले अझै पनि सकारात्मक सोचको अभावका कारण एकल महिलाहरु समाजबाट विभिन्न कारणहरुले अपहेलित हुनु परेको बताउनुभयो । एकल भएकै कारण शुभकार्यहरुमा सहभागी नगराउने नेपाली समाजको नकारात्मक संस्कृतिले गर्दा आफ्नो छोराको बिहेमा आफूले आशिर्वाद दिनबाट वन्चित हुनुपरेको उहाँको भनाई थियो ।

wwj sun day clubत्यसैगरी समाजले पुर्नविवाहलाई एकल महिलाको लागि नस्वीकारी दिदा सानो उमेरदेखि नै एक्लै जीवन बिताउन बाध्य हुने गरेको पीडा सुनाउदै सहभागी रुपसा बुढाले पुरुषवादी समाज र संस्कार आफूहरुको लागि अझै पनि अनुकुल बन्न नसकेको बताउनुभयो । संजालकी कोषाध्यक्ष बसन्ता जोशीले समाजले एकल महिलालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुन आवश्यक रहेको बताउदै एकल महिलाका बालबालिकालाई राज्यले सेवा सुविधा नदिदा बालबालिकाको भविष्य अन्यौलमा रहेको बताउनुभयो । संजालकी सचिव जयन्ती केसीले कानुनी रुपमा एकल महिलालाई विभिन्न अधिकार दिएपनि त्यसको कार्यान्वयनको पाटो फितलो रहेको जिकिर गर्नुभयो । पेन्सन प्राप्त एकल महिलाले सामाजिक सुरक्षा भत्ता उपभोग गर्न नपाउने कानुनी व्यवस्था एकल महिलाको लागि विभेदाकारी भएको उहाँको भनाई थिया ।