मन्त्री पाण्डले लगाए नेपालगन्जको सडकमा झाडु

बाँके,माघ २९-नेपालगंजमा गरिदै आएको साप्ताहिक सरसफाई कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले नेपालगन्जको सडकमा आज झाडु लगाउनु भएको छ । उहाँले पुष्पलाल चोकदेखि कारकाँदो चोकसम्मको सडकमा झाडु लगाउनुका साथै फोहर संकलन गर्नुभयो ।मन्त्री पाण्डेले नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा विभिन्न राजनीतिक दलले टाँसेको पम्पलेट उखेलेर फल्नु भएको थियो ।

त्यसपछि उहाँले पानीले शालिक सफा गर्नुभयो । सर्वसाधारणको सरसफाई अभियानमा मन्त्री पाण्डेले झाडु समाएर सरसफाई गर्न थालेपछि उहाँलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरिराज ज्ञवाली, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, राजनीतिक दलका नेता, कार्यकर्ता, सरसफाई अभियन्ता लगायतले साथ दिनुभएको थियो ।

साप्ताहिक सरसफाई कार्यक्रमपछि मन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेका बताउनुभयो । उहाँले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरसफाइका बारेमा जानकारी लिन र योजना बनाउन ७ वटै प्रदेशमा सह–सचिवको नेतृत्वमा टोली खटाएको बताउनुभयो । उहाँले चोक र शालिकमा पोष्टर टाँस्न सरकारले बन्देज लगाएको बताउनुभयो । ‘स्वस्थ हुन सरसफाइ हुनुपर्छ विकास हुन मानिस स्वस्थ हुनुपर्छ, यसलाई मध्यनजर गरी मन्त्रालयले विशेष अभियान थालेको मन्त्री पाण्डेले बताउनु भएको छ ।