कपिलवस्तुमा आन्दोलनको स्वरुप बुधबार देखि परिवर्तन हुने ।। सवै विद्यालयहरुमा पठनपाठन र परिक्षा संचालन गर्ने सहमति ।।

अराज सिंह बेल्बासे

कपिलवस्तु मंसिर २१- प्रदेश नम्वर ५ बाट पहाडी जिल्लालाई अलग गराएको विरोधमा कपिलवस्तुमा संचालन हुदै आएको आन्दोलनको स्वरुप बुधबारदेखि परिवर्तित हुने भएको छ । कपिलवस्तु संघर्ष समितिको चारनम्बरमा मंगलबार बसेको संयुक्त वैठकले एक साता देखि हुदै आएको जिल्ला बन्द, हडताल जस्ता कार्यक्रमको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ । जिल्लामा एक सातादेखि शैक्षिक संस्था, यातायात, कलकारखाना, बजार बन्द हुँदा नागरिकले सास्ती भोग्नु परेकोले आन्दोलनका कार्यक्रमको स्वरुप परिवर्तन गरिएको संघर्ष समितिका संयोजक झविलाल पोख्रेलले बताउनु भयो ।

परिवर्तित आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाउने बताउदै सवै जनवर्गाीय संगठनलाई परिचालन गर्ने, २३ गते शिक्षक, प्राध्यापक, संघसंस्थाद्धारा जिल्ला प्रशासन कार्यालय तौलिहवमा संयुक्त ज्ञापनपत्र पेश गर्ने, २५ गते युवा विद्यार्थीहरुको तर्फबाट चन्द्रौटामा बृहत विरोध सभा अयोजना गर्ने, २७ गते महिला संघ संगठनद्धारा गोरुसिंगेमा बृहत विरोध प्रदर्शन गर्ने र ३० गते सदरमुकाम तौलिहवामा कपिलवस्तु संघर्ष समितिको अगुवाईमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको संयोजक पोख्रलले बताउनु भएको छ ।

संघर्ष समितिको वैठकमा नेपाली काग्रेसबाट पदम खनाल, नेकपा मालेका शंकर आचार्य, राष्टिय जनमोर्चाका हिमलाल वाग्ले, राप्रपा अजय थापा लगाएले सरकारले ल्याएको संशोधनको प्रस्ताव फिर्ता नलिए कडा रुपमा २४ घण्टे बन्द हडतालका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । यसैबीच संघर्ष समितिले कपिलवस्तुको बुद्धरंगशालामा हुन गइरहेको आठौं कपिलवस्तु महोत्सवलाई सघाउने समेत निर्णय गरेको छ ।
बैठकले संघर्ष समितिको सचिवालयमा सदस्यहरुमा थप गरेको छ ।

यसैबीच विभाजित संघीयताको विरुद्धमा भएको देशको विषम परिस्थितीका कारण कपिलवस्तु जिल्लाका शैक्षिक संस्थाहरु बन्द भई पठन पाठनमा असर परेको बताउदै राजनीतिक दल र पेशागत संगठनबीच भएको वैठकले सवै विद्यालयहरुमा पठनपाठन र परिक्षा संचालन गर्ने सहमति भएको छ ।

त्यसैगरि बुटवल, ५ नम्बर प्रदेशबाट तराई र पहाडलाई छुट्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन विधेक फिर्ताको माग गर्दै मंगलबार सातौ दिन पनि बुटवल ठप्प भयो । विद्यार्थी संगठन र प्रदेश नम्बर ५ संयुक्त संघर्ष समितिले बिहान ७ देखि साझ ५ बजेसम्म बन्द जारी राखे । बन्दकर्ताहरु राष्ट्रिय झण्डासहित विहानैदेखि बुटवलका विभिन्न स्थानमा प्रद्धर्शन सुरु गरेका थिए । शंशोधन विधेकले देश विखण्डन गर्ने भन्दै बन्द र विरोधमा नागरिक समाज, उद्योगी व्यवसायीहरु समेत सडकमा उत्रीएका थिए ।

मध्यान्ह तिलोत्तमामा वृहत प्रद्धर्शन भयो । ५ नम्बर प्रदेश नटुक्राउ , राष्ट्रिय अखण्डता बचाउ लगायतका नारा लगाउदै मणिग्राममा पुगेर कोणसभामा परिणत भएको थियो ।लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । बन्दलाई सिर्जनशील र मर्यादीत बनाउन भन्दै आयोजकले स्थानीयदेखि राष्ट्रिय कलाकारलाई सडकमा उतारेका दिन । मध्यान्हदेखि साझैसम्म कलाकारले ५ नम्बर प्रदेशका पहाड र तराईका जिल्ला नछुट्याउन माग गर्दै गाएका थिए । पुष्पलालपार्कमा आयोजित कार्यक्रम हेर्न जनसागर उर्लेको थियो