तीन दलकै सहमतिमा संशोधन प्रस्ताव आएको देउवाको जिकिर

काठमाडौं, पुस ८-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको दाबी गर्नु भएको छ । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेलालाई शुक्रबार राजधानीमा उद्घाटन गर्दै सभापति देउवाले सहमतिमा भएको संशोधन प्रस्तावमा विपक्षी एमालेले बखेडा झिकेको आरोप लगाउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्तावमा हस्ताक्षर गरेको खुलासा गर्दै उनले पूर्वसम्झौताको पालना गर्नुको साटो एमालेले जनतामा भ्रम फैलाएको आरोप लगाउनुभयो ।

सभापति देउवाले विखण्डनकारी नीति त्यागेर राष्ट्रिय एकतामा सहभागी हुन एमालेलाई आह्वानसमेत गर्नुभयो ।सभापति देउवाले एमाले सरकारमा हुँदा संसद्वादी र सत्ता बाहिर हुँदा सडकवादी चरित्र देखाउनु दुःखद् भएको भन्दै संसद् अवरुद्ध नगर्न आग्रह गर्नुभयो । उहाँले संविधान संशोधनमार्फत मधेसी जनताका मुद्दालाई सम्बोधन गर्दै निर्वाचनमा जानुको विकल्प दलहरुसँग नभएको बताउनुभयो ।

निर्वाचनसँगै संविधान कार्यान्वयन हुने र त्यसले लोकतन्त्र सुदृढ हुने भएकाले निर्वाचनमा जुट्न कार्यकर्ताहरुलाई उनले निर्देशन समेत दिनुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो संशोधन प्रस्तावमा अल्मलिने समय धेरै नभएको भन्दै दलहरुकै सहमतिमा निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।