अमेरिकी गुप्तचर निकायका प्रमुखले डोनाल्ड ट्रम्पलाई दिए चेतावनी

वासिंटन, माघ ३ – अमेरिकी गुप्तचर निकाय ‘सीआइए’का प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई आफ्नो बोलीमा नियन्त्रण गर्न चेतावनी दिएका छन् ।सिआइएका प्रमुख ब्रेननले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पले बोलेका विषयले निकै महत्व राख्ने भन्दै हल्फाफुल्का टिप्पणीलाई नियन्त्रण गर्न चेतावनी दिएका हुन् ।

फक्स न्युजसँगको अन्तर्वाताका क्रममा ब्रेननले अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धको घोषणा गर्न नसक्ने बताए । ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नियमितजसो ट्वीटर मार्फत टिप्पणी गर्ने गरेका छन् । तर ट्रम्पको विचार अब व्यक्तिगतमात्रै नभएर त्यसले राष्ट्रिय सुरक्षामा असर गर्ने भएकाले नियन्त्रण कायम गर्नु पर्ने सिआइए प्रमुख ब्रेननको भनाइ छ ।

सिआइएका प्रमुख ब्रेननको कार्यकाल चाँडै नै सकिँदैछ । ब्रेननले कुनै ठाउँमा बोल्दा वा ट्वीटरमा केही कुरा खेल्दा अब ट्रम्पले आफ्नो भनाइ वा पोस्ट गर्न लागेको विचारले देशको आन्तरिक हित प्रभावित हुँदैन भन्ने सुनिश्चित गर्नुपर्ने बताए ।

राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पका हरेक विचार उनको व्यक्तिगत नभएर अमेरिकाको बन्ने भएकाले सचेत रहन ब्रेननले चेतावनी दिएका छन् । बयानबाजीले राष्ट्रिय हितको रक्षा नगर्ने उनको भनाइ छ ।

अमेरिकी चुनावमा रुसले प्रभावित गर्ने प्रयास गरेकोसम्बन्धी गुप्तचर विभागको प्रतिवेदन सार्वजनिक भएको एक हप्तापछि ब्रेननको यस्तो भनाइ आएको हो । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले यही जनवरी २० मा शपथ लिनेछन् । साभार ईमेज खबरबाट