अमेरिकाद्वारा उत्तर कोरियालाई कडा चेतावनी

एजेन्सी,भदौं,१९-

उत्तर कोरीयाले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने शक्तिशाली परमाणु बम परीक्षण गरेपछि अमेरिकाले कडा चेतावनी दिएको छ ।अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिका वा उसका मित्र शक्तिविरुद्ध उत्तर कोरियाली बम परीक्षणले खतरा आइलागेको भन्दै, सुरक्षा खतराविरुद्ध ‘कडा सैन्य प्रतिक्रिया दिइने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षाका विषयमा जानकारी दिएलगत्तै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख म्याटिसले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

रक्षामन्त्रीसँगको छलफलमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको पछिल्लो आणविक परीक्षण अमेरिकाका लागि खतरनाक भएको भन्दै यसले आफूहरुलाई थप उत्तेजित बनाएको टिप्पणी गरेका थिए । उनले उत्तर कोरियासँग हुने सबै देशको व्यापारिक सम्बन्ध अन्त्य गराउने बताइएको छ ।

ह्वाइट हाउसबाहिर पत्रकारहरुसँग कुरागर्दै रक्षा मन्त्री म्याटिसले अमेरिकासँग आफ्नो देश र सहयोगी मुलुकहरु दक्षिण कोरिया र जापानको रक्षा गर्न सक्ने क्षमता रहेको बताए । यसअघि उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो ।

दक्षिण कोरियाले यो बम सन् १९४५ मा जापानको नागासाकी शहरमा खसालिएको एटम बम भन्दा चार पाँच गुणा शक्तिशाली रहेको जनाएको छ ।