गणतन्त्र दिवसमा,भारतले नेपाललाई २० एम्बुलेन्स र ४ बस उपहार दियो

काठमाडौं, माघ १३– भारतले आज आफ्नो ६८ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले समेत विभिन्न कार्यक्रम गरेको छ । दूतावासभित्रै गरिएको कार्यक्रममा भारत सरकारले नेपालका विभिन्न जिल्लाका अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार प्रदान गरेको छ ।

त्यसैगरी विभिन्न पुस्तकालयलाई पुस्तकसमेत प्रदान गरेको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको झण्डा फहराई भारतका राष्ट्रपति प्रणव मुखर्जीले गणतन्त्र दिवसका अवसरमा दिएको सन्देश पढेर सुनाएका थिए ।भारतीय राष्ट्रपति मुखर्जीले दिएको सन्देशमा भारत र नेपालका जनताको आपसी मित्रता अझ बलियो हुने विश्वास व्यक्त गर्दै नेपालमा दीगो शान्ति, स्थायित्वमा जोड दिएका छन् ।

कार्यक्रममा भारतीय सेनाका भूपू सैनिकका विधवा तथा शारीरिक रुपले अशक्त भूपू सैनिकलाई आर्थिक सहयोगसमेत गरिएको थियो ।भारतले हालसम्म नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई ६ सय २ वटा एम्बुलेन्स, १ सय १८ वटा बस प्रदान गरिसकेको जनाएको छ ।साभार: ईमेज खबरबाट