राप्रपा महाधिवेशनमा आज चुनावी प्रक्रिया शुरु हुदै

काठमाडौं,मंसिर,१६-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका क्रममा आजदेखि चुनावी प्रक्रिया शुरु हुदैछ । नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । तर मतदाता नामावली प्रकाशनमा गरिएको ढिलाईले समग्र निर्वाचन प्रक्रिया प्रभावित हुने भएको छ ।

हिजो साँझसम्म प्रकाशित गरिसक्नुपर्ने मतदाता नामावली अहिलेसम्म प्रकाशित हुन सकेको छैन । जसका कारण आज विहान ९ बजेदेखि शुरु हुनुपर्ने उम्मेदवारको मनोनयन पनि पर धकेलिने भएको छ ।

 

उद्घाट्न समारोह सकिएलगत्तै हिजो साँझदेखि शुरु भएको बन्दसत्रमा अध्यक्षत्रयका प्रतिवेदन र विधान संशोधन मस्यौदा पेश गरिएको थियो । आजको बन्दसत्रले ती प्रस्तावहरु पारित गर्ने छ ।

यसैबीच, उम्मेदवारको मनोनयन दस्तुर बढी तोकिएको भन्दै महाधिवेशन प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् ।अध्यक्ष पदका लागि १ लाख, उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ ।

नयाँ नेतृत्वमा बहालवाला अध्यक्ष कमल थापालाई युवा नेता राजेन्द्र लिङ्देनले चुनौती दिनुभएको छ । दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिने तयारीमा रहेका छन् ।