सरकार निर्वाचन घोषणाको अन्तिम तयारीमा

काठमाडौं, माघ १९-सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारी गरिरहेको छ। बिहीबार बस्ने मन्त्री परिषद बैठकबाट निर्वाचनको मिति सम्बन्धी निर्णय हुन सक्ने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले बताउनुभयो ।‘यो विषय भोलिको क्याबिनेटमा जान्छ,’ मन्त्री कार्कीले भन्नुभयो, ‘सरकार निर्वाचनको तयारीमा छँदैछ, भोलिको बैठकमा कुनै न कुनै निर्णय हुन्छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँपालिका र नगरपालिकाको निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगलाई यसअघि नै आग्रह गरिसकेका छन्। आयोगले माघ १५ भित्र निर्वाचनसम्बन्धी कानुनहरु तयार भए जेठमा निर्वाचन गर्न सकिने बताउनु भएको थियो ।‘बिहीबारको क्याबिनेटमा निर्वाचनसम्बन्धी निर्णय हुँदैछ,’ प्रधानमन्त्री निकट माओवादी केन्द्रका एक उच्च नेताले भने, ‘बैशाख अन्तिम साता वा जेठको पहिलो साता निर्वाचन हुन्छ।

निर्वाचन घोषणा र त्यससँग सम्बन्धित कानुनी परामर्शका लागि प्रधानमन्त्री दाहालले आज बिहान कानुन व्यवसायीहरुसँग सरकारी निवास बालुवाटारमा भेटघाट गर्नु भएको थियो ।संसदले निर्वाचन सम्बन्धी तीन वटा विधेयकहरु पारित गरिसकेको छ। संविधान संशोधनसम्बन्धी विधेयक थाँती राखेर निर्वाचनसम्बन्धी कानुनहरु पारित गर्न प्रमुख दलहरु यसअघि नै सहमत भइसकेका थिए।

सोमबार बिहान मधेसी मोर्चासँगको बैठकमा पनि प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनमा जाने बारेमा छलफल गरेका थिए। मधेसी मोर्चाले संविधान संशोधन बिनाको स्थानीय निर्वाचनमा आफ्नो सहमति नरहने बताएको थियो।मुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले पनि तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ।