सीमांकनबाहेकका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाउने कांग्रेसको निर्णय

काठमाडौं, चैत १६-
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चाको सहमतिमै सीमांकनबाहेकका विषयलाई संविधान संशोधनमार्फत् टुंगो लगाउन पहल गर्ने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले सीमांकनबाहेकका भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व र नागरिकताको विषयमा संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सीमांकनको टुंगो गर्न भने शक्तिशाली आयोग गठन गर्ने निर्णय कांग्रेसले गरेको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिनुभयो ।कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार उठाउने जिम्मेवारीसमेत पार्टीका स्थानीय समितिहरुलाई नै दिएको छ ।गाउँपालिकामा उम्मेदवार चयनको जिम्मा क्षेत्रीय कार्यसमितिले केन्द्रीय सदस्य, जिल्ला समिति, सांसदहरुको परामर्शमा तय गर्नेछ ।

यस्तै, नगरपलिकामा भने जिल्ला कार्यसमितिले सबै पक्षसँगको परामर्शमा उम्मेदवार तय गर्नेछ ।महानगरपालिका र उपमहानगरपालिकामा भने केन्द्रीय कार्यसम्पादन समितिले नै उम्मेदवारको टुंगो लगाउने निर्णय भएको पनि नेता रिजालले बताउनुभयो ।कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टी नेता तथा कार्यकर्ताहरुलाई एकजुट भएर जान पार्टीलाई पहिलो बनाउन समेत निर्देशन  दिएको छ ।