प्रधानमन्त्रीको चीन भ्रमण सफलः परराष्ट्र विज्ञ

काठमाडौं,चैत,१५ –
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र मामिला सल्लाहकार डा। ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको दाबी गर्नु भएको छ ।अधिकारीले चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीको ४५ मिनेट भेटवार्ता हुनु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै भ्रमण पूर्ण रुपमा सफल भएको बताउनुभयो । आज रिपोर्टर्स क्लबमा बोल्दै डा.अधिकारीले भन्नुभयो प्रधानमन्त्री चीन उड्नुअघि एजेण्डाविहीन भ्रमणको संज्ञा दिनेहरु धेरै थिए, चिनियाँ राष्ट्रपति सी जिन पिङ्सँगको भेटवार्ता नै उनीहरुको लागि जवाफ भएको छ ।

उहाँले केपी ओली नेतृत्वको अघिल्लो सरकारले चीनसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयन गर्ने कुरामा पनि अहिलेको सरकार गम्भीर रहेको र कार्यान्वयनको लागि द्विपक्षीय गृहकार्यहरु भइरहेको जानकारी दिनुभयो ।कार्यक्रममा चीनका लागि पूर्वराजदूत टंक कार्कीले आपसी सद्भाव अभिवृद्धि गर्ने हिसाबले प्रधानमन्त्री दाहालको चीन भ्रमण सफल भएको बताउनुभयो । प्रधानमन्त्रीको रुपमा दाहालले यो सहित दुई पटक चीनको भ्रमण गरेको भन्दै उहाँले भन्नुभयो दुवै भ्रमण राजकीय होइनन्, उहाँको भ्रमण पुशपतिनाथको जात्रा सिद्राको व्यापार जस्तो हो ।

उहाँले बोआओ फोरममा भाग लिन प्रधामन्त्री चीन गए पनि उनले क्षेत्रीय बहुआयामिक फोरममा सम्बोधन गरेकोले यो पनि नेपालको लागि उपलब्धि भएको टिप्पणी गर्नुभयो ।प्रधानमन्त्री दाहालले चिनियाँ उच्च नेतृत्वकर्ताहरुसँग भेटवार्ता पनि गरेकोले भ्रमणले द्विपक्षीय सद्भाव बढाएको विश्वास व्यक्त गर्नुभयो ।‘चीनसँगको सम्बन्ध चिसिएको भनेर प्रधानमन्त्रीले आफैं  स्वीकार गर्नुभएको थियो, चिसिएको सम्बन्धमा अहिले न्यानोपना ल्याउने काम भएको छ, कार्कीले बताउनुभयो ।अनलाईन खबरबाट