अतरियामा सर्वाधिक धनराशीको महिला क्रिकेट आज देखि सुरु

इन्द्र कार्की
महेन्द्रनगर,बैशाख,२१
कैलालीको अतरियामा देशकै सर्वाधिक धनराशीको अतरिया कप महिला क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछ । यूनाइटेड अतरिया स्पोर्टस क्लव ले आयोजना गरेको प्रतियोगिता बैशाख २६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले भाग लिएका छन् । अतरिया स्थित एपिएफ को क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा वीच हुनेछ । प्रतियोगितामा भाग लिने ६ वटा टोलीहरुलाई समुह “ए” र “वी” गरि दई समुहमा विभाजन गरिएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाइने छ । लिग पछि समुहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले उपाधि सहित २ लाख रुपैया र उपविजेताले १ लाख रुपैया पाउनेछन् । प्लेयर अफ दी सिरिजलाई २५ हजार, वेस्ट व्याटिङ पर्फर्मेन्स,वेस्ट वलिङ पर्फर्मेन्स, र विकेट किपरलाई समान तथा १० हजार रुपैया प्रदान गरिनेछ भने हरेक खेलको प्लेयर अफ दी म्याचले ३ हजार रुपैया प्राप्त गर्नेछिन् । करिव २५ लाख रुपैया खर्च हुने प्रतियोगिताको उद्घाटन कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल द्धारा गरिने कार्यक्रम रहेको छ ।