वैशाख ३१ को निर्वाचन कसैले रोक्न सक्दैन प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत २९ –
प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने दृढता देखाउनु भएको छ । आज व्यवस्थापिका–संसदको सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री दाहालले संविधान संशोधनको नयाँ विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनलाई पनि निर्वाचनमा जाने बाटो खोल्ने दाबी गर्नुभयो ।

उहाँले केही जिल्लामा दोस्रो चरणमा चुनाव गर्नुपरेपनि सरकार तयार रहेको तर वैशाख ३१ को निर्वाचन भने नरोकिने प्रस्ट पार्नुभयो ।सबैको भावना समेट्ने गरी संविधान संशोधनको दोस्रो विधेयक बनाइएको भन्दै उहाँले सकेसम्म देशभर एकै चरणमा चुनाव गरिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्च अदालतको फैसला र कार्यकारी अधिकार दुबैको सम्मान गरिएको पनि प्रस्ट गर्नुभयो ।केही वर्षदेखि प्रहरी प्रमुखको नियुक्तिमा विवाद हुँदै आएको भन्दै उनले यस्ता विवादले शान्ति–सुरक्षा कायम गर्न प्रतिकूल असर पारेकाले अब मूल्यांकन विधि परिमार्जन गरिने बताउनुभयो ।