लुक्लामा गोमा एयरको विमान दुर्घटनाः चालकको मृत्यु,दुई घाईते

घाईतेको लुक्ला अस्पतालमा उपचार हुँदै

 काठमाडौं,जेठ,१३-

सोलखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा गम्भीर घाइते भएका विमानका चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ भने चालक दलका दुई सदस्य पनि घाइते छन् ।

काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाका कारण चालक राईको उद्दारमा कठिनाई भएको थियो ।

उद्दार लगतै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको भएपनि मौसम खराब भएका कारण सम्भव भएन । उनको लुक्ला अस्पतालमा उपचारका क्रममा निधन भएको सोलखुम्बु प्रहरीले जनाएको छ ।

सहचालक श्रीजन मानन्धरको उपचार जारी छ । विमान परिचारिका प्रज्ञा महर्जनलाई काठमाडौं पठाउन खोजिएको थियो तर, खराब मौसमका कारण सम्भव भएन ।

उद्दारपछि लुक्ला अस्पताल भर्ना गरिएका उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउन भन्दै फेरि विमानस्थल ल्याइएको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि फेरि फर्काएर लुक्ला अस्पतालमा नै लगिएको छ ।

मौसममा सुधार आउनासाथ उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।अनलाईनखबरबाट