सिरियामा अमेरिकी आक्रमणः ८० जनाको मृत्यु

एजेन्सी,जेठ,१३-

सिरियामा अमेरिकाले गरेको हवाई आक्रमणमा परी बालबालिकासहित ८० जनाको मृत्यु भएको छ । चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)को नियन्त्रणमा रहेको शहर मायादीनमा गरिएको भनिएको आक्रमणमा ८० जनाको मृत्यु भएको हो ।

कारबाहीमा मारिने बालबालिकाहरु पनि रहेका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अमेरिकी सेनाले पनि यस क्षेत्रमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ भने क्षतिको समीक्षा गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार विभागका वरिष्ठ अधिकारीले भने लडाईमा सहभागी सबै देशको वायुसेनाले आक्रमणको समयमा नागरिक तथा सैनिक अड्डाको दुरीको बारेमा ध्यान राख्न अपिल गरेको छ ।

यसअघि गएको मार्चमा इराकको मसुलमा भएको अमेरिकी हवाई आक्रमणमा १ सय ५ जना भन्दा बढी नागरिकको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको थियो ।