आज विश्व जनसंख्या दिवस

इन्द्र कार्की,
महेन्द्रनगर,असार,२७-
“मानव सशक्तिकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन“ भन्ने मुल नाराका साथ आज विश्व जनसंख्या दिवस नेपाल भरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइदै छ । जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने उद्देश्यले सन् १९८९ बाट हरेक बर्ष जुलाई ११ मा यो दिवस मनाउन थालिएको हो ।

परिवारको चौतर्फी बिकास अनि समृद्धि सहित जनसंख्या नियन्त्रणका लागि पनि परिवार नियोजन आवश्यक रहेको भन्दै यो बर्ष “मानव सशक्तिकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन“ भन्ने विश्वव्यापी नारा तय गरिएको छ ।

नेपालमा भने “व्यवस्थित परिवार समृद्ध राष्ट्र“ भन्ने नारासहित आज जनसंख्या तथा वातावरण मन्त्रालयले राष्ट्रिय सभा गृहमा बृहत कार्यक्रमको आयोजना गरेको छ । विश्वको जनसंख्या राष्ट्रसंघको पछिल्लो तथ्याङक अनुसार साढे ७ अर्व नाघिसकेको छ भने सन् २०५० सम्ममा यो दर १० अरब पुग्ने आकंलन विभिन्न अध्ययनले गरेका छन् ।

नेपालको कुल जनसंख्या २ करोड ८८ लाख २५ हजार ७ सय ९ रहेको छ । जसमध्ये सबैभन्दा बढी १५ देखि ३९ वर्षसम्मका १ करोड ६८ लाख ९ हजार ७ सय ७५ छन् जसलाइ उत्पादनशील उमेर समूह अन्र्तगत राखिएको छ । यस्तै ४० वर्ष माथिको जनसंख्या ७४ लाख ९२ हजार ४८ रहेको छ ।