काठमाडौं,भदौ २२-
व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकमा परेका संशोधनमाथि छलफल थालिएको छ ।
समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संशोधन प्रस्ताव राख्ने समिति सदस्यहरुसँग छलफल सुरु गरिएको हो । बैठकमा विधेयक ल्याउनुको औचित्यमाथि नै सदस्यहरुबीच मत बाझिएको छ ।
बैठकमा संशोधन दर्ता गर्नेमध्येका एक सदस्य राजीवविक्रम शाहले पूर्वपदाधिकारीजस्तै पूर्वसांसदहरुलाई पनि मर्यादा कायम गरी न्यूनतम् सुविधा दिनुपर्ने धारणा राख्नुभयो ।
अर्का सांसद गंगालाल तुलाधरले विधेयक पारित गर्न हतार गर्न नहुने भन्दै विज्ञ र सम्बन्धित पक्षसँग छलफल गरी विधेयकमाथि घनिभूत छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।
तर, समितिकै अर्का सदस्यद्वय प्रेम सुवाल र मीना पुनले विधेयकप्रति आपत्ति जनाउनुभयो । जनताका समस्यालाई त्यत्तिकै छाडेर पदमा पुग्नेबित्तिकै राज्यले पाल्नुपर्ने विधेयकमाथि छलफल गर्नु नै अनुचित भएको टिप्पणी उनीहरुको छ ।
बैठकको सुरुमा गृहमन्त्री जनार्दन शर्माले पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकबारे जानकारी गराउनु भएको थियो । विधेयकमाथि थप छलफल अर्को बैठकमा हुनेछ ।