बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, मर्नेको संख्या ४ सय २ पुग्यो

फाईल तस्विर !!

काठमाडौं,असोज,४-बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको बाँके जिल्ला अस्पतालका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो।

भदौ २० गते स्वास्थ्यमा समस्या आएसंगै भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका श्रेष्ठको दुबै फोक्सोमा निमोनिया भएर मृत्यु भएको बताइएको छ ।

योसंगै नेपालभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय २ पुगेको छ । हिजो मात्र स्वास्थ्य मन्त्रालयले ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

हिजो देशभर १ हजार २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ ।

काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन । यस्तै, हिजो १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन ।