मुस्लिम धर्मावलम्बीहरु ईद–उल–फित्र मनाउँदै

काठमाडौं, असार १२-

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ ।

विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा बस्दछन् । ईदको दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर उनीहरु नमाजपछि ईदको बिषेश परिकार सेवईका साथै अन्य परिकारहरु खाएर शुभकामनासहित पाहुनाहरुलाई स्वागत गर्छन् । यो क्रम दिनभर चलिरहन्छ ।

फोटो साभार खगेन्द्र दाहालको फेशबुकबाट

आइतबार बेलुका चन्द्रमा देखिएपछि ईस्लामिक पात्रो अनुसार रमजान महिनामा एक महिना रोजा (ब्रत) पुरा गरी ईद मनाउने चलन छ । रमजान महिना सकिएलगत्तै ‘रोजा’ सकिने र ईदगाहको मस्जिदमा सामुहिक रुपमा प्रार्थना गरी शुभकामना साटासाट समेत गर्ने चलन छ ।

रोजा सूर्योदय हुनुअघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा धनी वर्गले गरीबलाई आर्थिक सहयोगलगायत अन्य दान दिने चलन रहँदै आएको छ ।

फोटो साभार आलम खाँनको फेशबुकबाट

मुस्लिम समुदायको बाहुल्य रहेका नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाडौं, सुनसरी, मोरङ, सप्तरीलगायत देशभरिका विभिन्न जिल्लामा रौनक छाएको छ ।

ईदको अर्थ खुशियाली हो । रमजान सकिएको उपलक्ष्यमा खुशियाली मनाइएकाले यो पर्वको नाम ईद–उल–फित्र हुन गएको मुस्लिम अगुवाहरु बताउँछन् ।

ईस्लामिक पात्रो हिजरी सम्वत अनुसार रमजान नवौं महिना अन्तर्गत पर्दछ । उक्त पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानल मुबारक’ भनिन्छ । ईद पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।