काठमाडौं,जेठ,२७-प्रतिनिधि सभामा आजबाट संविधान संशोधन विधेयकमाथि छलफल हुने भएको छ ।आजको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो ।
सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ ।
सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको सात दिनपछि विधेयक छलफलका लागि संसदमा प्रस्तुत गर्न सकिने प्रावधानअनुसार विधेयकलाई अगाडी बढाउन लागिएको हो ।
संघीय संसद सचिवालयले गत जेठ १९ गते राजपत्र र २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो ।उक्त सात दिन हिजो पूरा भएसँगै सरकारले संशोधन विधेयक अघि बढाउन चाहेको हो ।
सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते अद्यावधिक गरेको थियो ।
निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको हो । विधेयक जेठ १९ गते सदनमा प्रस्तुत भएको थियो ।
आज संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ ।