कैलाली,जेठ,३१-नेपालको नयाँ नक्सासहितको निसाना छाप संसोधन भइरहेका बेला, कैलालीमा सशस्त्र प्रहरीले एक हप्तामै ५ वटा बोर्डर आउट पोष्ट (विओपी) थपेको छ । हप्ता दिनमै एकै जिल्लामा यत्ति धेरै विओपी थपिएको यो नेपालमै पहिलो पटक हो ।
कैलालीको भारतसँग १०१ किलोमिटर लामो सीमाना छ । भारततिर दुई-तीन किलोमिटरमा एसएसबीका पोस्ट छन् । नेपालतिर जिल्लाभरमा तीन वटा पोस्ट मात्रै रहेको अवस्थामा पुसमा १ र जेठको २२ गते यता मात्रै थप ५ वटा विओपी स्थापना गरि ९ वटा पुर्याइएको हो ।
सशस्त्र प्रहरीको बैद्यनाथ वाहिनी अत्तरियाले दिएको जानकारी अनुसार सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारले, २०७६ मंसिर ३० गते नै देशभरिमा ११४ वटा विओपी थप्ने निर्णय गरेको थियो । त्यो निर्णय अनुसार कैलालीमा ६ वटा विओपी स्विकृत भएका थिए ।
कैलाली जिल्लामा स्वीकृत भएका मध्ये कैलालीको कैलारी गाउँपालीकाको भुइँयाफाँटामा पुष ११ गते नै विओपी स्थापना गरिएको थियो । तर जेठको २२ गते धनगढी उप महानगरपालिका वडा नं. ९ को बंगराकटान, वडा नम्बर १० को जुगेडा, कैलारी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको खोनपुर भन्ने स्थानमा र भजनी नगरपालिकाको वढा नम्बर ७ को हिम्मतपुरमा विओपी स्थापना भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर गढा ३४ हेडक्वार्टर धनगढीले दिएको जानकारी अनुसार शुक्रबार मात्रै टीकापुर नगरपालिकाको श्रीलंका टापुमा छैटौं विओपी स्थापना भएको छ । योसँगै कैलालीको १०१ किलोमिटरको भारतसँगको सीमानामा ९ वटा विओपी पुगेका छन् । यसअघि टीकापुर, भजनी र फुलबारीमा गरी तीन वटा मात्रै विओपी थिए ।
अब जिल्लाभरी ९ वटा विओपी र कैलालीको त्रिनगर नाकामा एउटा गुल्म सतिह करिब ७ सय जनाको सशस्त्र प्रहरीको जनशक्ति कैलालीको सीमानामा मात्रै खटिने भएको छ । सशस्त्र प्रहरी बल बैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले अहिलेको विषम् परिस्थितिमा सीमा रक्षाका लागि विओपी स्थापना गरिएको बताउनुभयो।
विओपीको उद्घाटन गर्दै उनले भने, ‘सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाको ठूलो जिम्मेवारी आएको छ । व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी अझ बढी अनुशासित एवम् कर्तब्यनिष्ठ भइ राष्ट्रसेवामा लाग्नुपर्छ ।’
सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेडक्पार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिमिल्सीनाले देशको सीमानामा पहिलो पङ्तीमा रहेर सशस्त्र प्रहरीले कार्यगरिरहेको बताउनुभयो । उहाॅंले भन्नुभयो सीमानामा विओपी स्थापना भए पनि सीमाको सुरक्षा हुने र सीमा क्षेत्रका नागरिकमा सुरक्षाको समेत प्रत्याभुति हुने विश्वास व्यक्त गर्नुभयो ।